काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भएको छ।
केन्द्रीय सुरक्षा समितिले तयार गरेको एकीकृत निर्वाचन सुरक्षा योजना आइतबार बसेको समिति बैठकले स्वीकृत गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा समितिको बैठक बसेको थियो।
गृह मन्त्रालयका प्रवक्ता सह सचिव आनन्द काफ्लेले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भएको जानकारी दिए।
उनका अनुसार समितिको बैठकले चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै सुरक्षा योजनालाई स्वीकृत गरिएको हो।
सुरक्षा योजनामा सुरक्षा निकायको भूमिका र जिम्मेवारी विभाजन, राजनीतिक गतिविधि, सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ लगायतका विषयमा रणनीति तय गरिएको छ।
त्यसैगरि निर्वाचनमा सेना परिचालनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रस्ताव भएअनुसार रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले जानकारी दिएका हुन्।
केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने पनि निर्णय गरेको छ। मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुरुवात गर्ने प्रवक्ता काफ्लेले जानकारी दिएका हुन्।
बैठकले हिंसा भड्काउने र जनतालाई आतङ्कित पार्ने गतिविधिहरूलाई निस्तेज गर्नका लागि कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको छ।



