काठमाडौं। सँधै युवायुवतीको बाक्लो उपस्थिति हुने ठमेलको एलओडीमा शनिबार दिउँसो फरक माहोल बन्यो। रातको समयमा प्राय: एलओडी निदाउँदैन। शनिबार दिउँसै भएपनि एलओडीको माहोल रातको भन्दा कम रहेन। जहाँ मञ्च तताउँदै थिए त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी।
एलओडीको पूरा नाम लर्डस अफ ड्रींक्स हो। तर शनिबार दिउसो त्यहाँ ड्रींक्स भन्दा बढी प्रा.डा. भण्डारीको कलाको पर्खाइ थियो। त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो विभागका चिकित्सक, नर्स र अन्य आफन्त तथा शुभचिन्तक प्रा.डा. भण्डारीको एकल साँझको सारथी बन्दै थिए।

साँझको ६ बज्यो प्रा. डा. भण्डारी आफ्ना अस्पतालका सहकर्मी र सहयोगीलाई साक्षी राखेर मञ्च ढोग्दै उक्लिए।कार्यक्रम ढिला भएकामा माफी मागे। र ‘जब पेशा र रुचि भेटिन्छन्’ कार्यक्रममार्फत प्रा.डा. भण्डारी एकल विशेष सांगीतिक माहोलमा प्रस्तुत भए।
आफ्नै गायन र संगीत रहेको ‘निलो आकाश…’ गीतमार्फत प्रस्तुत भएका प्रा.डा. भण्डारीले ‘तिमी नै तिमी…’ र ‘तिम्रो माया…’मार्फत सांगीतिक माहोल तताए।
त्यसबेलासम्म उनका सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरु मञ्च नजिक पुगेसकेका थिए। प्रा.डा. भण्डारीले सम्झिएकाजतिको नाम लिए। आफ्नो कर्म र कलाको संयोजन गरे। सिक्किम र पोखरादेखी आएका उनका शुभचिन्तक उठे र हात हल्लाए।

उनी रोकिएन। पछाडी राखिएको गिलाँसको पानीको सहारामा उनको गला खुल्यो। र अर्को दमदार सोलो सुरु गरे, ‘चाइना कम्पनी…’
निरन्तर ‘आकाशैमा…’, ‘यो जिन्दगानी…’, ‘कति बस्यौ…’, ‘एकै नजरमा…’, ‘फुल बुट्टे सारी…’, ‘सिरीमा सिरी…’, ‘कसरी भनूँ…’ ‘एउटा जीवन…’, ‘मिठो कहानी…’ जस्ता गीतहरुमार्फत खुलेका उनले निरन्तर सहभागिलाई नचाए।
‘यो दोस्ती…’ फुटसल टिमका साथीहरुका लागि गुन्जियो। ‘चञ्चले कान्छी…,’ ‘फुलचोकीको…’ सहित १७ वटा गीत प्रस्तुत गरेपछि ‘ओढेर…’ गीतमार्फत उनले आफ्नो प्रस्तुतीको बिट मारे।
मञ्चमा रहँदा प्रा.डा. भण्डारीलाई रोशन श्रेष्ठ, देव लामा र टिमको सहयोग रहेको थियो। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक रहेका प्रा.डा. भण्डारी नेपालका अग्रणी कलेजो प्रत्यारोपण सर्जन हुन्।
शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख रहेका प्रा.डा. भण्डारीकै अगुवाईमा नेपालमै पहिलोपटक इन्डिपेन्डेट कलेजो ट्रान्सप्लाट भएको थियो।

संगीतलाई `प्यासन´का रुपमा अँगाल्दैं आएका प्रा.डा. भण्डारीका झण्डै आधा दर्जन गीत सार्वजनिक भइसकेका छन्। २९ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै संगीत कर्म लागेका प्रा.डा. भण्डारीले सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ…’ रेकर्ड गराएका थिए। पछिल्ला केही वर्षयता उनी गायनसँगै, गीत रचना र कम्पोजिसनमा पनि सक्रिय रहँदै आइरहेका छन्।




