काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै धमाधम मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ।
आयोगका अनुसार बिहीबारसम्म मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने मतदाताको संख्या २ लाख ५७ हजार ५०५ पुगेको छ।
निर्वाचन आयोग नेपालका अनुसार मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गते सोमबारसम्म कायम गरिएको थियो। निर्धारित समय सोमबार सकिंदै गर्दा आयोगले पुन: मंसिर ५ गतेसम्म समय थप गरेको हो।
“पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि आयोगको आजको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मंसिर ५ गतेसम्मका लागि थप गरिएको छ। थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।” आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले भोलि शनिबार समेत राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले आवेदन गर्न सक्ने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले भने शनिबार आवेदन गर्न नसकिने आयोगले जनाएको छ।
आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिबार सञ्चालन रहने व्यहोरा जानकारी गराएको छ।
सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिबारको दिनसमेत) जैविक विवरण दिने सेवा लिनु हुन सबै सेवाग्राहीलाई आयोगको अनुरोध छ।
साथै आयोगले शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन हुने सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ।



