काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
हालका प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै गर्दा कार्कीलाई सरकारले प्रहरी प्रमुख बनाएको हो।
खापुङ प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो।
नवनियुक्त आइजिपी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। गत २४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनले काठमाडौ उपत्यकाको कमान्ड सम्हालेका थिए भने त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए
डिआइजी पदमा रहँदा कार्कीले लुम्बिनी प्रदेशको कमान्ड सम्हालेका थिए। एसएसपीको जिम्मेवारीमा भने उनले काठमाडौँ जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए। उनैले त्यसबेला भुटानी शरणार्थी प्रकरणको मुद्दा हेरेका थिए। कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्तासमेत भइसकेका छन्।



