काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयको छलफललाई तिव्रताका साथ अघि बढाएको छ।
आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबिच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा गरिनु पर्ने तयारी बारे छलफल भएको छ।
बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ।
विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्य प्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो।
विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ।
बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो।



