काठमाडौं। अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभाव नेपालमा बिहीबार विहानैबाट देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुकोसमेत प्रभावका कारण आज बिहानैबाट देशभर साधरणतया बदली रहेको छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखए जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले भनेको छ।



