काठमाडौं। सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते रिक्त राष्ट्रिय सभा सदस्य चयन गर्न निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
‘मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिको लागि माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ।’ सरकारका प्रवक्ता खरेलले भने।
उनले मन्त्रिपरिषद् बैठकले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए।
यसैगरी कतारको दोहामा आयोजना हुने सामाजिक विकासको लागि दोस्रो विश्व शिखर सम्मेलन कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कार्तिक १७ गतेदेखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए।



