काठमाडौं। प्रधानमन्त्री शुशीला कार्कीले आज राजनीतिक दल र जेन-जी अगुवा प्रतिनिधि बिच संयुक्त छलफल गर्दैछिन्।
त्यसका लागि प्रधानमन्त्री कार्कीले आफ्नो सरकारी निवास वालुवाटारमा बैठक डाकेकी हुन्। संचार मन्त्री जगदीश खरेलले बैठक बुधबार (आज) ४ बजेका लागि डाकिएको जानकारी दिए।
कार्कीले बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेन-जी अगुवाहरूलाई बोलाएकी छिन्। यो दल र जेन-जी बिच प्रधानमन्त्रीले बोलाएको पहिलो संयुक्त बैठक हो। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।
यसअघि प्रधानमन्त्री कार्कीले गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल गरेकी थिइन्।



