काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण शनिबारसम्म नेपालको मौसममा खराबी हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ।
'मोन्था' आज राति भारतको आन्द्र प्रदेश प्रवेश गर्ने क्रममा रहेको र तत्पश्चात नेपालको मध्य भुभाग हुँदै आइपुग्ने विभागले जनाएको छ। नेपालको मध्य पुर्वबाट पश्चिम तर्फ सर्दै कार्तिक १५ गतेसम्म त्यसको असर नेपालमा देखिने विभागले जनाएको हो।
जसका कारण मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ। यस्तै गण्डकी र लुम्बिनीका केही स्थानमा पनि असर देखिने बताइन्छ।
विभागले आवश्यक सतर्कता अपनाउनु हुन र पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ।



