बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दल दर्ताका लागि निर्वाचन आयोगमा १५ नयाँ दलको निवेदन

दल दर्ताका लागि निर्वाचन आयोगमा १५ नयाँ दलको निवेदन

images
२०८२ कार्तिक ७ गते, शुक्रवार
२०८२ कार्तिक ७ गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी फागुनका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि १५ वटा नयाँ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन आएको बताएको छ।

    images

    आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको हो। 

    images

    आयोगका अनुसार निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दलले दल दर्ताका लागि आयोगमा निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको जनाएको छ।

    सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेन-जी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दल दर्ताका लागि आयोगमा प्राप्त निवेदन अध्ययन भइरहेको भन्दै प्रक्रिया पुरा हुने दल दर्ता स्वीकृत हुने बताए।

    निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत असोज ७ गते दल दर्ताको लागि निवेदन दिएको थियो।

    यस्तै गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिन्हसहित यही कात्तिक २ गते दल दर्ताको निवेदन दिएको थियो।

    यसैगरी अधिवक्ता डा.सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो भने असोज ३० गते दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले ‘ज्योति’ चुनाव चिन्हको मागसहित दर्ताका लागि निवेदन दिएको थियो।

    यस्तै दल दर्ताका लागि हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले यही कात्तिक २ गते ‘क्रस खुकरी’ निर्वाचन चिन्ह माग गर्दै निवेदन दिएको छ। आयोगका प्रवक्ता भट्टराईले उमेर समूह खुल्ने प्रकृतिको दलको नाम र ‘क्रस खुकरी’ निर्वाचन चिन्ह हालसम्म कसैले नपाएको अवस्थामा यसबारे आयोगले प्रचलित व्यवस्था र अभ्यास हेरेर निर्णय गर्ने बताए।

    यसैगरी आयोगमा निर्वाचन घोषणापूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको उनको भनाइ छ। त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन्।

    आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ। आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन्।

    यी सबै नयाँ र पहिले नै आयोगमा दर्ता कायम भएका दलहरूले निर्वाचन प्रयोजनका लागि पुन: दल दर्ता गराउनु पर्नेहुन्छ। आयोगले सूचना प्रकाशन गरेपछि पुराना र अहिले दर्ता हुने नयाँ दलले पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ। त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ। 

    आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालका अनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना प्रकाशन हुनेछ। सोका लागि आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ। यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन् ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभाको विघटन र निर्वाचनको घोषणा भएको थियो। सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरेर तयारी गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend