काठमाडौं। काठमाडौंको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार नगद सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना चिनियाँ र एक जना नेपाली नागरिक छन्। चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घर भएकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार प्रहरी बृत्त स्वयम्भूले स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको हो।
स्वयम्भु सानोभर्याङ स्थित सरिता महर्जनको घरमा उनीहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनाहरू समेत बरामद गरेको जनाएको छ।
नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान र शिरबन्दी १ थान बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिए।
आरोपीहरूको डेराबाट प्रहरीले आईफोन र म्याकबुक पनि बरामद गरेको छ। उनीहरूबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ।



