काठमाडौं। यस वर्षको तिहारका लागि अमेरिका, अस्ट्रेलिया, क्यानाडासहितका देशमा करिब दुई लाख थान मखमली फूलको माला निर्यात भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस बर्ष विभिन्न देशमा गरि करिब २ लाख थाना माला निर्यात गरिएको हो।
गत वर्ष तिहारका लागि १ लाख ५० हजार थान माला विदेश निर्यात भएको थियो। अघिल्लो वर्ष भन्दा यस वर्ष ५० हजार बढी माला निर्यात भएको फ्यानले बताएको छ।
फ्यानका अध्यक्ष दिलीप बादेले अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान, कोरिया, दुबइ लगायत केही खाडी मुलुकबाट समेत मालाको माग भएको जानकारी दिए।
नेपालीहरुको बसोबास रहेका अन्य देशमा पनि मालाको माग बढिरहेको छ। तर माग अनुसार पठाउन नसकिएको उनले जानकारी दिए।
पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ।
यद्यपि, तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ।
यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा फूल उत्पादन हुने गरेको र बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको फ्यानले जनाएको छ।
हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको फ्यानका अध्यक्ष बादेले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ। गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो।
यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठूलो नोक्सानी बेहोर्नु परेको छ। वर्षाको कारण १५ करोड बराबरको नोक्सान भएको फ्यानले जनाएको छ।
नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका फ्यानको तथ्यांक छ। नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गर्ने गरेका छन्।



