काठमाडौं। नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट आज नेपाल ल्याइँदै छ।
आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेर नेपालका लागि बिदाइ गरेका थिए। उनको शव आज दिउँसो साँढे २ बजे फ्लाइ दुबईको जहाजमार्फत काठमाडौं आइपुग्ने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार शवलाई नेपाल ल्याएपछि उनको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।
गत साता हमालले जीवित २० जना बन्धकहरु रिहा गर्ने समयमा विपिन नपरेको सुचना परिवार र सम्बद्ध सरकारी पक्षलाई दिएको थियो। त्यसपछि हमासले गत सोमबार मृत्युु भएकाहरुको शव बुझाउने क्रममा विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो।
नेपाल ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विपिनको पार्थिव शरीरलाई नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्याइने तयारी गरिएको छ।
यसैगरी धनगढीबाट सेनाले एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने गरेर तयारी गरिएको छ। विपिनको शवलाई सोमबार उनको गृह नगरमा अन्त्येष्टि गरिनेछ।
प्रधानमन्त्री सुशीला कार्कीले विपिन प्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि विपिनको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने गरेर तयारी भइरहेको बुझिएको छ।
विपिनलाई हमासले ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। हमासले इजरायली सेनाको हवाई आक्रमणमा विपिनको मृत्यु भएको दाबी गर्दै आएको छ।



