काठमाडौं। जेन-जी आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी ओली सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिएका हुन्। राजदूत हरुलाई कात्तिक २० गतेभित्र फिर्ता आउन भनिएको छ।
कहाँ को थिए?
यसअघिको केपी ओली सरकारले राजदूतका रुपमा चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहानलाई पठाएको थियो।
यस्तै साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्त अधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी राजदूत थिए।



