काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा चाडबाडलाई लक्षित गरी रु १ अर्ब बढिको ड्राइ फ्रुट्स आयात भएको छ। जसमा सबैभन्दा बढि रु ३२ करोड ९ लाखको नरिवल भित्रिएको छ।
आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँ तिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार ५९५ केजी नरिवल आयात भएको हो।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पछिल्लो तीन महिनामा करिब रु १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए ।
भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए।
विभागको तथ्याङ्कअनुसार रु २६ करोड २ लाखको २ लाख ९८ हजार ९४६ केजी काजु, रु १८ करोड ६० लाखको २ लाख ३२ हजार ६९३ केजी बदाम र अलमण्ड आयत भएको छ। रु २० करोड ९८ लाखको ६ लाख ७ हजार २२५ केजी ओखर आयात भएको छ।
यस्तै, पिस्ता १२ हजार ७७७ केजी रु १ करोड ४५ लाख, रु २१ करोड ६२ लाखको १७ लाख १४ हजार ४१९ केजी सुपारी, रु १ करोड ३० लाखको १ लाख २४ हजार १७७ केजी खजुर र छोकडा आयात भएको छ।
यस्तै ४१ हजार ५५० केजी अंजिर रु २ करोड ६५ लाख, ३ लाख २४ हजार ६७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै, रु ४ करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन्।
विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ। तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ। यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउँछ। अघिल्लो वर्ष तीन महिनामा ७ लाख ७८ हजार ५८२ थान बत्ती रु ८"करोड ८४ लाख मूल्यमा आयात भएको थियो।



