बिरगंज। यतिबेला विश्व स्वास्थ्य संगठनको सहयोगमा पर्सा र बारा जिल्लामा हैजा विरुद्धको खोप खुवाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा पर्सा र बारामा मुखबाट खुवाउने हैजा विरुद्धको खोप खुवाउने अभियान जारी छ।
अभियानका लागि पर्सा जिल्लामा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सञ्चालित खोप अभियानमा स्वयंसेवक खटाएर सहयोग पुर्याइरहेको छ। पर्साका १४ पालिकामा खोप खुवाउने अभियान जारी छ।
शाखाले खोप अभियानमा सहयोगका लागि २२४ जना स्वयंसेवक परिचालन गरिएको जनाएको हो। यस्तै अभियानकै बिचमा रेडक्रसले हैजा संक्रमण पुष्टि भएलगत्तै बच्ने उपायका बारेमा सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ।
असाेज २६ गते देखि सुरु भएको हैजा प्रतिकार्यको खोप अभियानमा बुधबारसम्म पर्सा तथा बारा जिल्लामा २ लाख ६८ हजार ९५४ जनालाई हैजा विरुद्धको खाेप खुवाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एक महिनाअघि पर्सामा हैजा संक्रमण महामारीको रुपमा फैलिएपछि मन्त्रालयले मुखबाट खुवाउने खाेप अभियान सञ्चालन गर्ने निर्णय गरेकाे थियाे।
अभियान अन्तरगत पर्सामा १४ वटा स्थानीय तहका ६ लाख ५२ हजार १२९ र बाराका ६ स्थानीय तहका ३ लाख ६५ हजार ९३१ जनालाई खाेप दिइने लक्ष्य राखिएको छ। याे खाेप एक बर्षभन्दा माथि उमेरका सबैलाई खुवाउन मिल्छ।
पर्सामा गत २६ गतेदेखि सुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ। बारामा भने २७ गतेदेखि खोप खुवाउन सुरु गरिएको थियो।
पर्साको बिरगंज महानगरसँग सीमा जोडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाँउपालिका गरी ६ वटा पालिकामा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ।
पर्साको बिरगंज महानगरमा सुरुमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता बिरगंजका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा तीमध्ये २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। हैजाको संक्रमण देखापरेको डेढ महिना सम्म पनि हैजाको श्रोत पत्ता लाग्न सकेको छैन।



