काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ।
निर्वाचन आयोगले आज विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका प्रतिनिधि तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आयोगको कान्तिपथस्थित कार्यालयमा बोलाएर आगामी निर्वाचनाका बारे छलफल गरेको हो।
छलफलमा आयोगले दलहरूलाइ निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराएको आयोगले जानकारी दिएको छ।
छलफलका क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भएर तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दलहरूलाई आग्रह गरे।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलपछि बनेको सरकारले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
छलफलका क्रममा आयोगले निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न भनेको छ।
छलफलमा नेपाली कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि सहभागी थिए।



