भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले देशभर सशक्त रुपमा प्यालियटिभ सेवाको विस्तारका लागि कोष स्थापना गर्ने घोषणा गरेको छ।
बुधबार विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसर पारेर अस्पताल परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत अस्पतालले देशभर `बीसीएच प्यालियटिभ केयर´को सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाएको हो। जसमा कोषमा प्राप्त रकम आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि निःशुल्क सेवामा प्रदान गर्न प्रयोग गरिनेछ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष डा. उज्ज्वल चालिसेले प्रत्येक ब्यक्तिमा जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार हुने भएकाले क्यान्सरका बिरामीका लागि अस्पतालले अब देशभर प्यालियटिभ सेवाको बिस्तार गर्ने बताए।
“हामी केवल उपचार होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो, भक्तपुर क्यान्सर अस्पताल अब देशभर प्यालियटिभ सेवाको बिस्तारमा अघि बढ्छ।” डा.चालिसेले भने।
कार्यक्रममा उनले नेपालमा पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि सरकारी, गैर–सरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
उनले भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा रहेको पनि जानकारी दिए।
अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यान लगायतका उपचारका सुविधा उपलब्ध गराइरहेको र यसै वर्षदेखि पिट स्क्यान सेवा सुरु गर्न लागेको पनि डा. चालिसेले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी मिस नेपाल २०२५ सुश्री लुना लुइँटेलले प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा मात्र नभएर मानवीय मूल्यसँग जोडिएको अभियान भएको बताइन्।
“प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा होइन, यो मानवीय मूल्यसँग जोडिएको अभियान हो, हामी सबैले यसलाई सामाजिक दायित्वको रूपमा लिनुपर्छ।” उनले भनिन्।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिँदै उक्त रणनीतिले देशभर प्यालियटिभ सेवा विस्तारमा ठूलो भूमिका खेल्ने बताए।
कार्यक्रममा निर्देशक चालिसेले उक्त रणनीतिको पाँच मुख्य पक्षहरू, मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता, र समुदाय संलग्नता प्रस्तुत गर्दै नेपालमा प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको बताए।
हाल अस्पतालले होम बेस्ड केयर र टर्मिनल केयर युनिट मार्फत पनि निरन्तर सेवा दिइरहेको छ।
सो अवसरमा उनले लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरले १ लाख, डीके मेडी सेल्स पाँच लाख बराबरको सहयोग, पूर्व–पश्चिम कन्सर्नले दुई लाख रुपैयाँ र श्रीमती उषा दीक्षितबाट एक लाख रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिवता जनाएको जानकारी दिए।
कार्यक्रममा दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह, र प्राडा. विष्णुदत्त पौडेलको योगदानलाई विशेष रूपमा सम्झना गरिएको थियो।



