काठमाडौं। सरकारले पर्सा तथा बारा जिल्लामा २ लाख ६८ हजार ९५४ जनालाई हैजा विरुद्धको खाेप खुवाएको छ।
असाेज २६ गते देखि सुरु भएको हैजा प्रतिकार्यको खोप अभियानमा ती दुई जिल्लामा हालसम्म साे संख्यामा खाेप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एक महिनाअघि पर्सामा हैजा संक्रमण महामारीको रुपमा फैलिएपछि मन्त्रालयले मुखबाट खुवाउने खाेप अभियान सञ्चालन गर्ने निर्णय गरेकाे थियाे।
अभियान अन्तरगत पर्सामा १४ वटा स्थानीय तहका ६ लाख ५२ हजार १२९ र बाराका ६ स्थानीय तहका ३ लाख ६५ हजार ९३१ जनालाई खाेप दिइने लक्ष्य राखिएको छ। याे खाेप एक बर्षभन्दा माथि उमेरका सबैलाई खुवाउन मिल्छ।
पर्सामा गत आइतबारदेखि सुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ। बारामा भने सोमबारदेखि खोप खुवाउन सुरु गरिएको थियो।
पर्साको बिरगंज महानगरसँग सीमा जोडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाँउपालिका गरी ६ वटा पालिकामा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो।
पर्साको बिरगंज महानगरमा सुरुमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता असोज बिरगंजका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा तीमध्ये २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। हैजाको संक्रमण देखापरेको डेढ महिना सम्म पनि हैजाको श्रोत पत्ता लाग्न सकेको छैन।



