काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको ग्रेडिङ गर्ने तयारी गरेको छ।
मन्त्रालयले आन्दोलनका क्रममा २ हजार ३१६ जना घाइते अस्पतालमा भर्ना भएको बताएको हो।
घाइतेमध्ये अवस्था अनुसाए मन्त्रालयले वर्गीकरण गर्ने भएको हो। त्यसका लागि मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ।
सो प्राविधिक समितिमा १० जना विज्ञलाई समितिको सदस्यका रुपमा समावेश गरिएको छ। प्राविधिक समितिको संयोजकको जिम्मेवारी पाएका डा. शर्माले घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको जानकारी दिए।
उनका अनुसार घाइतेहरूको चोटपटक तथा शारीरिक अवस्था हेरेर सामान्य, मध्यम वा गम्भीर भनेर वर्गीकरण गरिने छ।
स्वास्थ्य मन्त्रालयको पहलमा अहिले देशका मुख्य अस्पतालहरुमा जेन-जी क्लिनिक संचालन गरेर घाइतेहरूको नि:शुल्क उपचार हुँदै आइरहेको छ।



