कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे 'बर्थिङ सेन्टर' सञ्चालनमा आएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ।
सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र 'शून्य होम डेलिभरी क्षेत्र' का रूपमा परिचित बन्दै गएको छ।
स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन्। चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको छ।
चालु आर्थिक वर्षको हालसम्म १३० भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको स्वास्थ्यचौकीले जनाएको छ। यस क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर शून्य रहेको छ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुने चलन समाप्त भएको प्रमुख झाले बताए।
उनले यसबाट सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।



