बिरगंज। गत महिना हैजाको प्रकोप फैलिएको पर्सामा हैजा विरुद्धको मुखबाट खुवाउने (ओरल) खोपका लागि अभियान सुरु गरिएको छ।
पर्सा जिल्लाका १४ वटा पालिका र बारा जिल्लाका ६ वटा पालिकामा खुवाइने हैजा बिरुद्धको खोप अभियान आइतबारदेखि पर्सा जिल्लामा सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा आयोजित खोप शुभारम्भ कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलाई खोप खुवाएर अभियानको शुभारम्भ गरिएको हो।
हैजा विरुद्धको प्रतिकार्य खोप अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्यकर्मीको हातबाट प्रजिअ सुबेदीले खोप खुवाएर अभियानको सुरुवात गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
खोप अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट लगायतलेपनि खोप सेवन गरेका थिए।

आइतबारदेखि सुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ। यस अभियानमा जिल्लाभरका १ वर्षमाथिका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए।
आइतबारदेखि सुरु खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सबै सामुसदायिक तथा निजी विद्यालय, कलेज, सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन हुँदै आएका बाह्य कोप केन्द्रहरु,मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल भारत सीमा नाका, उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरेर खोप खुवाउन थालिएको ठाकुरले बताए ।

यस्तै पर्साको छिमेकी जिल्ला बारामा भने असोज २८ गतेदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिने अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले जानकारी दिए।
पर्साको बिरगंज महानगरसँग सीमा जोडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाँउपालिका गरी ६ वटा पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने छ।
आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर हैजाविरुद्धको खोप लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा अनुरोध गरेको छ।
पर्साको बिरगंज महानगरमा सुरुमा गत भदौ ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता असोज २३ गतेसम्म बिरगंजका विभिन्न अस्पतालमा गरी १५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा तीमध्ये २४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो। हैजाको संक्रमण देखापरेको डेढ महिना सम्म पनि हैजाको श्रोत पत्ता लाग्न सकेको छैन।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालमा अहिले हैजाको संक्रमण पुष्टि भएका बिरामी उपचाररत नरहेपनि दैनिक चार पाँच जना झाडापखालाका बिरामीहरु उपचारका लागि आइरहेका छन्।
डेढ महिनापहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उदेश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो।




