काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
उनलाई ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी सम्बन्धि मुद्दामा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको हो। सोही मुद्दामा केही दिनअघि प्रहरीले उनको बयान लिएको थियो।
सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छाडेको थियो।
‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो।
सीआईबीले उनलाई भन्सार छली तथा संगठित अपराध कसुरमा पक्राउ गरेको जनाएको छ।
उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि उनी तानिएका थिए।
अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।




