काठमाडौं। सरकारले केपी ओली सहित पाँच जना पूर्वप्रधानमन्त्रीले मापदण्ड विपरीत लिएका सुरक्षाकर्मी तानेको (फिर्ता गरेको) छ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुर्वपदाधिकारीले राख्दै आएका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए। सोही अनुसार सुरक्षा निकायमा मापदण्ड विपरीत खटाइएका सुराक्षाकर्मी तान्न सर्कुलर भएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका १६ जना प्रहरीमध्ये २ जना राखेर १४ जना फिर्ता भएका छन्। उनको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा १६ प्रहरी थिए। अब जुनियर प्रहरी उनको सुरक्षामा हुनेछन्।
यसैगरी ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी तर्फका १४ जना फिर्ता भएका छन्। सशस्त्रबाट उनको सुरक्षाका लागि ३० जनाको फौज थियो। अब ओलीसँग सशस्त्र प्रहरीका १६ जनाको टोली बाँकी छ।
यसैगरी पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षाको लागि नेपाल प्रहरीको डीएसपीको कमान्डमा १७ जना सुरक्षाकर्मी उपलब्ध गराइएकोमा १५ जना फिर्ता गरिएको हो। देउवासँग अब २ जना नेपाल प्रहरी छन्। उनीसँग सशस्त्र प्रहरीतर्फका सुरक्षाकर्मी भने मापदण्ड अनुसारकै थिए।
यस्तै पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा खटिएका २० जनामध्ये १८ जना फिर्ता भएका छन्। अब उनको सुरक्षाका लागि नेपाल प्रहरी तर्फबाट सईको नेतृत्वमा २ जना बाँकी छन्।
प्रचण्डले सशस्त्र प्रहरी तर्फबाट भने ३० जनाको फौज लिंदै आएका थिए। गृह मन्त्रालयको सर्कुलरपछि मापदण्ड विपरीत रहेका सशस्त्र प्रहरी बलका इन्स्पेक्टरसहित १४ जना फिर्ता भएका छन्। प्रचण्डको सुरक्षामा अब सशस्त्र तर्फबाट नायब निरीक्षक (सई)को कमाण्डमा १६ जना रहनेछन्।
यसैगरी पुर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षामा नेपाल प्रहरीका १२ जना सुरक्षाकर्मी खटिएकोमा मापदण्ड बाहिर रहेका प्रहरी फिर्ता गरिएको छ भने अर्का पुर्वप्रधानमन्त्री झलनाथ खनालको सुरक्षामा खटिएका ८ जना प्रहरी मध्ये २ जना राखेर ६ जना फिर्ता गरिएको छ।
पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द र बाबुराम भट्टराईले भने कार्यविधि अनुसार नै सुरक्षाकर्मी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
भीआईपीको सुरक्षामा प्रहरीका २७६ जना थप जनशक्ति परिचालित भएको प्रहरी प्रधान कार्यालयको रेकर्डमा देखिएको छ। यस्तै कार्यविधिभन्दा धेरै खटिएका १ सयभन्दा बढी प्रहरी फिर्ता भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि-२०७७ (परिमार्जित) अनुसार पूर्वप्रधानमन्त्रीहरूले विशिष्टस्तरको सुरक्षा पाउँछन्। सो कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीले सशस्त्र प्रहरीका १५ जना र नेपाल प्रहरीका २ जना पीएसओ आजीवन पाउँछन्। उच्च सुरक्षा थ्रेट भएको अवस्थामा कार्यविधिमा तोकिएको भन्दा थप सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ।
गृह मन्त्रालयको निर्णय अनुसार शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मापदण्ड विपरीत खटिएका आफ्ना मातहतका सुरक्षाकर्मी फिर्ता गरेका हुन्।



