काठमाडौं। सरकारले क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधिहरुको उत्पादन नेपालमा नै गर्नको लागि आवश्यक कदम अगाडि बढाउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिहीबार सो सम्बन्धि निर्णय गरेको जानकारी दिएका हुन। उनका अनुसार नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय गरिएको हो।
रेडियोधर्मी (रेडियो आइसोटोप्स) क्यान्सरको अवस्था पत्ता लगाउन गरिने पेट सिटिस्क्यानका लागि प्रयोग हुने रेडियोधर्मी औषधी हो।
हाल नेपालमा पेटसिटीको सुविधा राखेका केही निजी अस्पतालहरुमा यो सुविधा उपलब्ध छ। अहिले नेपालमा भारतबाट रेडियो आइसोटोप्स ल्याएर सेवा दिने गरिएको छ। यसको परिक्षणका लागि बिरामीले महँगो शुल्क तिर्नु पर्ने बाध्यता छ भने सो रेडियो आइसोटोप्स उत्पादन भएको छोटो समयमा नै प्रयोग गरिसक्नु पर्ने हुन्छ।
सरकारले विसं २०७० साल देखि नै पेट सिटिस्क्यान मेसिन खरीद प्रक्रिया अगाडी बढाउन थालेको भएपनि अहिलेसम्म सफलता प्राप्त गर्न सकेको छैन। भक्तपुर क्यान्सर अस्पतालले भने पेट सिटिस्क्यान मेसिन खरीद गर्ने गरी प्रक्रिया अघि बढाउँदै छ।
नेपालमा सरकारी अस्पतालमा पेटसिटिस्क्यान मेसिन उपलब्ध हुने अवस्था बनेमा तथा रेडियोधर्मी (रेडियो आइसोटोप्स) उत्पादन समेत नेपालमै हुने अवस्था बनेमा क्यान्सरका बिरामीहरुको उपचारका लागि सहजता हुनेछ।



