काठमाडौं। देशका ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना भएको छ। सरकारले नागरिक आरोग्य सेवा केन्द्रका रुपमा सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्याएको हो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामवाबु ठाकुरले देशभरका ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिए।
डा. यादवका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको हो।
निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ चैत २२ गते राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठको सेवा शुभारम्भ गर्दै नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने घोषणा गरेका थिए। सो बखत उनले सरकारले आगामी आर्थिक वर्षमा त्यसका लागि वजेट सुनिश्चित गर्ने बताएका थिए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. ठाकुरले अहिले स्थापना भएका केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुने बताए। यस्तै ती आयुर्वेद केन्द्रबाट निःशुल्करूपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ भने योगसमेत सिकाइने छ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको विभागले स्पष्ट गरेको छ।
निमित्त महानिर्देशक डा ठाकुरका अनुसार यसअघि २३ वटा आयुर्वेदसम्बन्धी औषधि बिरामीलाई दिने गरेकामा अबदेखि ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुनेछ।
ती आयुर्वेद सेवा केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्चरक्तचाप लगायतका रोगका औषधि निःशुल्क रुपमा प्रदान गरिने डा. यादवले जानकारी दिएका छन्।
नेपालमा सातै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा आयुर्वेद चिकित्सालय नरदेवी तथा आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरबाट सेवा प्रदान हुँदै आएको छ।



