काठमाडौं। विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफ (UNICEF) ले सरकारलाई १० लाख १८ हजार १०० मात्रा मुखबाट खुवाइने हैजा (Oral Cholera) खोप दिएको छ।
गाभी, द भ्याक्सिन एलायन्सको सहयोगमा र अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) को विश्वव्यापी हैजा खोप भण्डारबाट आपूर्ति गरिएका यी खोपहरू बुधबार आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।
यी खोप हालै पर्सा र बारा जिल्लामा देखा परेको हैजाको प्रकोप नियन्त्रण गर्न सञ्चालन हुने आपतकालीन खोप अभियानका लागि प्रयोग गरिने विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले जानकारी दिएको छ।
यो खोप अभियान पर्सा जिल्लामा आगामी अक्टोबर १२ बाट सुरु गरिने योजना छ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका र पोखरिया नगरपालिकामा गत महिना हैजा संक्रमण फैलिएको थियो। अझैसम्म पनि बिरगंजमा हैजाको स्रोत पत्ता लागेको छैन भने अस्पतालमा झाडापखालाका बिरामी आउनेक्रम पनि रोकिएको छैन।
बिरगंजमा हैजा पुष्टि हुनु अघि नै तीन जनाको ज्यान गएको थियो। उनीहरू झाडापखाला लागेर अस्पताल पुगेका थिए। तर उनीहरूको दिशाको नमूना लिन नपाउँदै मृत्यु हुँदा हैजा हो वा होइन भन्ने अन्योल थियो।
तर त्यसपछि निरन्तर अस्पतालमा बिरामी आउन थालेपछि बिरगंजमा हैजा समुदायस्तरमा नै फैलिएको पुष्टि भएको थियो।



