इटहरी। सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोका कारण तीन कैदीबन्दीको मृत्यु भएको छ।
विगत चार दिनदेखि झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी कैदीबन्दी ज्वरोबाट प्रभावित भएका छन्।
कारागार प्रशासनका अनुसार ज्वरोका कारण बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो। उनी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिएका हुन्।
यसअघि कारागारमा रहेका अन्य दुई कैदीबन्दीको पनि मृत्यु भएको थियो। भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको कारागर प्रशासनले जनाएको छ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको थियो। यस्तै लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राईको शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत अवस्थामा मृत्यु भएको हो।
यी तीनै जनाको चार दिनको अवधिमा मृत्यु भएको हो। यस्तै हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन्। सुरुमा ६ जना कैदीबन्दीलाई मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जानकारी दिएको छ।
निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।



