काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ।
रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि भएको प्राइमरी इलेक्सनमा सहभागी ९ जनामध्ये रास्वपाले डा. थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो। उम्मेदवार बारे निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई चुनाव चिन्ह 'घण्टी' दिएर उम्मेदवार बनेको घोषणा गरेका हुन्।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन्।
प्राइमरी इलेक्सनमा थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए। यी सबैभन्दा थापाले बढी मत पाएपछि रास्वपाले उनैलाई उम्मेदवार तय गरेको हो।
आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले भदौ १२ भदौ गते अनलाइन माध्यमबाटै प्राइमरी इलेक्सन गरेको थियो। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म भएको इलेक्सनमा थापाले बढी मत पाएका हुन्।
हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्जमा न्युरोलोजी विभाग प्रमुख पदमा कार्यरत छन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन्।



