काठमाडौं। नेपालमा पहिलोपटक हिमालयन इन्टरनेशनल स्ट्रोक समीट आयोजना हुने भएको छ। नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ गतेबाट सम्मेलनको आयोजना गर्न लागेको हो।
भदौ १ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ वटा देशका विज्ञहरुले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरुले प्रस्तुति दिने डा. पौडेलले जानकारी दिए।
‘जसमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशनलगायतका कुराहरु समेटिनेछन्,’ उनले भने।
त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ। जसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतिकरण हुने प्रस्तुतिसमेत हुनेछन्।
नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मूख्य उद्देश्य रहेको डा. पौडेलले जानकारी दिए।
‘यो सम्मेलनले नेपालमा स्ट्रोकको ताजा अवस्था, निदान र व्यवस्थापनका लागि भएका प्रयासका विषयमा प्रष्ट पार्नेछ,’ उनले भने, ‘यसैगरी नेपालको सात वटै प्रदेशमा स्ट्रोककको अवस्था र उपचारको पाटोलाई समेत यसले उजागर गर्नेछ।’
सम्मेलनले ज्ञान आदान–प्रदान, क्षमता विकास तथा सहकार्यपूर्ण कार्यका लागि एउटा महत्वपूर्ण मञ्चको रूपमा स्थापिन हुने आयोजकको विश्वास छ।
जसले नेपाल र सम्पूर्ण हिमालय क्षेत्रभित्र स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई सुदृढ बनाउने लक्ष्य राखेको नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले बताए।
‘नेपालको स्ट्रोको यथार्थ चित्र उतार्नका लागि यो सम्मेलन एक कोशढुङ्गा साबित हुनेछ,’ उनले भने।
सम्मेलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्लूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वल्ड स्ट्रोक अर्गनाइजेसन (डब्लूएसओ), एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन (एपीएसओ) र एन्जल इनिसिएटिभले प्रत्यक्ष सहयोग गरेका छन्।
सम्मेलनमा सहभागी हुन डब्लूएसओका अध्यक्ष, युरोपियन स्ट्रोक अर्गनाइजेसनका नवनिर्वाचित अध्यक्ष र एपीएसओका प्रतिनिधिहरु नेपाल आउँदैछन्।



