मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

‘बद्रीनारायण धाम’ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

‘बद्रीनारायण धाम’ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका ७ रामकोटमा रहेको बद्रीनारायण धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ।

    images

    वाचन शिरोमणी पण्डित स्वर्गीय नारायण पोखरेलको स्मृतिमा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा अहिले धार्मिक पर्यटक बढ्न थालेका छन्। उक्त धाममा हाल दैनिक एक हजार र विदाको दिनमा पाँच हजारसम्म भक्तजन दर्शनका लागि जाने गरेका छन्।

    images

    गत वैशाख १९ देखि २७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बद्रीनारायण धामको मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजा सुरु गरेसँगै अहिले बद्रीनारायणको दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु नागार्जुन पुग्ने गरेका छन्।

    लण्डनबाट बद्रीनारायण धामको दर्शनका लागि आउनुभएका निरज खड्का नेपालमै बद्रीनारायणको दर्शन गर्न पाउँदा आफूलाई ज्यादै आनन्दित तुल्याएको बताउँछन।

    `धेरै मानिसहरु बद्रीनारायणको दर्शन गर्न भारत जान्छन्, नेपालमै धाम निर्माण हुनु नेपाल र नेपालीका लागि खुशीको कुरा हो।´ उनले भने

    काठमाडौँको लामाटारबाट बद्रिनारायण धामको दर्शनका लागि आएकी निर्मला घिमिरे काठमाडौंमै बद्रीनारायण धामको दर्शन गर्न पाएकोमा खुशी प्राप्त भएको बताउँछिन्।

    `बद्रीनारायण धामको दर्शनका लागि भारत जानुपरेन यहिँ दर्शन गर्न पाएकोमा सारै खुसी लागेको छ।´ उनले भनिन्।

    यस्तै, लण्डनबाटै बद्रीनारायण धामको दर्शनका लागि आएकी सामना बालाले पनि नेपालमै बद्रीनारायण धाम निर्माण भएकोमा खुसी लागेको बताइन्। रामकोटमा २२ रोपनी क्षेत्रफलमा उक्त धाम निर्माण भएको छ।

    उक्त धाममा रु नौ करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ र उक्त मन्दिरको प्राण प्रतिष्ठासमेत सम्पन्न भइसकेको छ।

    यस्तै, धामभित्र नारायण आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ।

    ५२ करोड लगानीमा निर्माण हुँदै गरेको उक्त धामलाई पूर्णता दिनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य गरी रकम जुटाउने काम भइरहेको नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवम् धामका पीठाधीस पण्डित दिनबन्धु पोखरेलले जानकारी दिए।

    उक्त धाम निर्माणका सरकारले २२ रोपनी जग्गा उपलब्ध गराएको थियो। चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको पण्डित पोखरेलले बताए।

    स्व. नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय थिए। उनले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएका थिए।

    विस २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मिएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो। उनी नेपालको पहिलो धार्मिक सहिदसमेत हुन्। स्व. पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो।

    स्व. पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा १ हजार १३६ पुराण वाचन गरेका थिए। पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ।

    प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष पोखरेलले स्व. नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताए।

    `नेपालमै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ।´ उनले भने।

    उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend