काठमाडौँ। नेपाल आयल निगमले भैरहवामा पेट्रोलियम पदार्थ भण्डारणका लागि १४ बिगाहा क्षेत्रफलमा नयाँ भण्डारण गृहको निर्माण गर्न जग्गा सम्याउने र ‘रिटेनिङ वाल’ लगाउने काम ८५ प्रतिशत सम्पन्न गरेको छ।
रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारको १४ बिगाहा क्षेत्रफलमा आयल निगमले नयाँ भण्डारण गृह निर्माणका लागि पूर्व तयारीको काम गरिरहेको हो। हाल सो जग्गामा ‘रिटेनिङ वाल’ (पर्खाल) लगाउने काम धमाधम भइरहेको छ।
नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका सहायक प्रबन्धक तेजराज तिमल्सिनाका अनुसार डीपो निर्माणका लागि हाल पहिलो चरणको कार्य अन्तर्गत ‘रिटेनिङ वाल’ लगाउने काम अन्तिम चरणमा पुगेको छ।
‘रिटेनिङ वाल लगाउने काम अन्तिम अन्तिम चरणमा छ, अब केही समय भित्रमा नै भण्डारण गृह निर्माणको काम सुरु गर्ने गरी काम भइरहेको छ,’ तिमल्सिनाले भने।
भण्डारण गृह निर्माण गर्न पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम भइरहेको हो। सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घट्दै गएकाले भदौ महिना भित्रमा पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका हुन्।
भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ८५ प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ।
निर्माण परियोजनाका संयोजक इञ्जिनियर प्रदीप यादवले २०८३ भित्रमा भण्डारण गृहको निर्माणको सबै काम सम्पन्न गर्ने लक्ष्य आयल निगमको रहेको जानकारी दिए।
‘भण्डारण गृह निर्माणको सबै काम २०८३ भित्र सकिसक्ने लक्ष्य निगमको छ, सोही लक्ष्य अनुसार निगमले काम गरिरहेको छ,’ यादवले भने।
हाल निर्माण हुने डिपो भन्दा पुरानो डिपो ८ किलोमिटरको दुरी छ। नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ भित्र बन्नेछ। ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ। सो स्थानमा कूल १४ बिघाहा क्षेत्रफल छ। सो जमिन निगमले २०७३ सालमा खरीद गरेको थियो
निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो। सो भण्डारण गृहको क्षेत्रफलसमेत कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ। सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएको हो भने त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको हो। भलवारीको भण्डारण गृहको क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेकोमा हाल निर्माण भइरहेको नयाँ भण्डारण गृह बन्दा करिब तीन सातालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने क्षमता छ। जसमा २१ लाख लिटरको तीन वटा डिजेल, १६ लाख लिटरको दूई वटा पेट्रोल र ७० गिएलको तीन वटा मट्टीतेलको भण्डारण गृह निर्माण हुनेछ। नयाँ बन्दै गरेको सो भण्डारण गृहमा पूर्वाधार डिजाइनको काम काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ।
आयले निगमले केही समय भित्रमा नै भारतको मोतिहारी-सर्लाही एलपिजी ग्यास पाइपलाइनसमेत निर्माण गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको छ। कुल १३० किलोमिटर लामो यो पाइपलाइनको लागत खर्च १५ अर्ब रूपैयाँ छ। अहिले भारत बुलेट व्यवसायीले नेपालमा ग्यास ढुवानी गरिरहेका छन्। त्यसबापत उनीहरुले वार्षिक ६ अर्ब रूपैयाँ लैजाने गरेको निगमको रेकर्ड छ। सो पाइपलाइन निर्माण हुँदा भारत जाने ठूलो रकम रोकिनेछ।



