काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन्। चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे।
‘हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन्। डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवर्द्धनले सहयोग पुर्याइरहेको छ। ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने।
विमोचन समारोहमा फिल्म निर्देशक एवम नायिका दिपाश्री निरौलाले गीतको शब्द, संगीत र स्वरका कारण आफू अभिनय गर्न तयार रहेको सुनाइन।
हास्य कलाकार किरण केसीले जनजिब्रोमा सँधै झुन्डिने किसिमको गीत तयार भएकाले अभिनयका लागि तयार भएको बताए।
समारोहमा गायिका धनकुमारी थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्ने भन्दापनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको र तीज पर्वलाई शिष्ट एवम मर्यादित रुपमा मनाउन सन्देश प्रवाह गर्नेगरी गीत तयार गरेको बताइन।
धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द संगीत धामीकै छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतको रोमान्चक नृत्य एवम अभिनय देख्न पाइन्छ।



