मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुलमान, आनी छोइङ्ग लगायतलाई न्यूयोर्कमा 'ग्लोबल हिरो अवार्ड'

कुलमान, आनी छोइङ्ग लगायतलाई न्यूयोर्कमा 'ग्लोबल हिरो अवार्ड'

images
२०८२ श्रावण १२ गते, सोमवार
२०८२ श्रावण १२ गते, सोमवार
  • न्यूयोर्क। हामी नेपाली ग्लोबल नामक संस्थाले विभिन्न क्षेत्रमा योगदान पु-याएका नौ जना व्यक्तित्व तथा एक संस्थालाई ग्लोबल हिरो अवार्ड' द्वारा सम्मानित गरेको छ।  

    उक्त अवार्डबाट सम्मानित हुनेमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, चर्चित गायिका तथा समाज सेवी गायिका आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेखक तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासांङ लामा, पत्रकार ऋषि धमला तथा न्यूयोर्कमा नेपाली समुदायका लागि कार्यरत संस्था अधिकार छन्।
     
    नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूले गरेको योगदानको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
     
    अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडसेडिङ भएको बेला सबैको सहयोगले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सम्भव भएको स्मरण गरे।
     
    `जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौं। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ," उनले भने।
     
    एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा 'उज्यालो नेपाल' अभियान सुरु गरेको उनले बताए।
     
    `सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको छु। तपाईं सबैको साथको लागि अनुरोध गर्छु,´ घिसिङले भने, `आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ।´
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरीव मुलुकको रुपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए।
     
    `तपाईंहरुको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ। एक पटक नेपाल फ़र्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं,´ उनले भने।
     
    सांसद शाहीले  वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै उनले  एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे।
     
    `मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन। तर पोखरीमा फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न त्यहाँ भित्र छिर्नै पर्छ,´ उनले भने।
     
    चर्चित गायिका आनी छोइंग डोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरुलाई सम्मान गरेर हौसला बढाएको बताइन्। देश विदेश जहाँ रहे पनि मातृभूमिको सक्दो सेवा गर्न र नेपालको उन्नतिमा हातेमालो गर्न उनले सबैलाई आग्रह गरिन्।

    हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, उपाध्यक्ष सुनिता खत्री लगायतले अवार्ड प्रदान गरेका थिए।  कार्यक्रममा रोचक सांगीतिक प्रस्तुति पनि गरिएको थियो।
     
    राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले 'हाम्रो नेपाली  ग्लोबल' स्थापना गरिएको उक्त संस्थाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend