मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

‘स्वर्ग मेरो’ लिएर आए ओकिली

‘स्वर्ग मेरो’ लिएर आए ओकिली

images
२०८२ श्रावण ४ गते, आइतवार
२०८२ श्रावण ४ गते, आइतवार
  • काठमाडौं। ९० को दशकमा ‘मेरी ओकिली...’, ‘झ्याबाट हेर...’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन्।

    images

    नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्। पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन्।

    images

    यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन्।

    ‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु। यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने।

    उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन्। पप/सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन्। यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन्।

    गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन्। गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्। जसमा छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ। अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन्।

    ‘एउटा प्रेमभावको गीत तयार गर्ने इच्छा यसपटक पुरा भएको छ। यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ। मेरा अघिल्ला गीतमा अरु नै मोडल छन् तर यसपटक गीतको भाव अनुसार निर्देशक जेम्स दाईले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ। आफ्नो गीतको भावलाई उतार्न सकेको छु भन्ने विश्वास छ’, ओकिली भने।

    पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन्। प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए। उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन्। उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    ‘मेरा गीतहरू एकै ठाउँमा भेटिओस भनेर पनि आफ्नै युट्युब च्यानलमार्फत गीत ल्याएको हुँ। मलाई नयाँ रुपमा चिन्नेले पनि मेरो सांगीतिक यात्राको बारेमा उक्त गीतमार्फत केही जानकारी पाउनु हुनेछ’, गायक ओकिलीले भने।

    नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए। ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन्।

    हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन्।

    संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन्। दुई दशक लामो सांगीतिक यात्रामा उनी निरन्तर नयाँ रचना र उत्पादनमा सक्रिय छन्, जसले उनको छुट्टै पहिचान स्थापित गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend