काठमाडौं। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले यो सरकार खरानीको डल्लो नभएको भन्दै ढल्दै नढल्ने दाबी गरे। उनले गत बुधबार मात्रै वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताएका थिए।
नेकपा एमालेका अध्यक्ष ओलीले त्यस्तो अभिव्यक्ति दिएको सोमबार ६ दिन मात्रै भयो। यही ६ दिनकोबिचमा देशमा पूर्व गृहमन्त्री रबि लामिछाने सरकारी ठगी आरोपमा पक्राउ परी अनुसन्धानका लागि पोखरामा हिरासतमा छन्। यही बिचमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा भन्ने हो भने ‘उथलपुथल’ पनि गर्न चाहेको देखिन्छ।
प्रधानमन्त्री ओली सरकार कुनै हालतमा ढल्दैन भनेको पाँचौ दिनमा हिजो आइतबार आफ्नै पार्टीको सचिवालय बैठकमा अवस्था ठीक नरहेको भन्दै आफ्ना शीर्ष तहका नेताहरुलाई सचेत रहन आग्रह गरे।
हिजो नै प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेर आफू भेट्न आउने बताए। त्यसपछि ओली पार्टीको बैठककै बिचमा देउवालाई भेट्न वालुवाटार गए।
कांग्रेस भने प्रधानमन्त्रीको पछिल्लो व्यवहारका बिषयमा बिच्किदो अवस्थामा छ। एकातिर सरकारमा रहेका मन्त्रीहरुमाथि आफैं हाबी हुने प्रधानमन्त्रीको व्यवहार त अर्र्कोतर्फ ओलीले साना राजनीतिक दललाई फुटाउने गरी ल्याउन लागेको भनिएको दल विभाजन सम्वन्धि अध्यादेशसँग कांग्रेस सतर्क छ।
पछिल्लो समय प्रधानमन्त्रीको यही व्यवहारका कारण सत्ताको प्रमुख सहयात्री दल कांग्रेस खुसी देखिएको छैन। प्रधानमन्त्री ओलीलाई देउवाले आइतबार वालुवाटारका भेटवार्तामा पनि त्यही कुरा राखे।
‘प्रधानमन्त्रीले कांग्रेसका मन्त्रीलाई नै जानकारी नहुने गरी कतिपय निणर्यमा हस्तक्षेप गरिरहनु भएको छ, कतिपय कुरामा मन्त्रीहरुलाई दबाब पनि दिइरहनु भएको छ, त्यसो हुँदा कांग्रेस ओलीजीसँग अलि सशंकित छ,’ कांग्रेसका एक शीर्ष नेताले एक्सरे नेपालसँग भने।
प्रधानमन्त्री ओलीले पछिल्लो समय दल विभाजन सम्वन्धि अध्यादेश ल्याउने गरी तयारी गरिरहँदा कांग्रेसले त्यसलाई रोक्ने प्रयास गरिरहेको छ। कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु दल विभाजन सम्वन्धि अध्यादेश ल्याउन नहुने पक्षमा छन्।
उनीहरुले दल विभाजन सम्वन्धि अध्यादेश ल्याएर साना दलहरुलाई फुटाएर एमाले संसदको जोड घटाउमा आफूलाई बलियो अर्थात पहिलो दल बनाउने योजनामा रहेको भन्दै कांग्रेस त्यसको साक्षी बस्न नहुनेमा एकमत छन्।
आइतबार वालुवाटारमा लामो समय भएको भेटमासमेत कांग्रेस सभापति देउवाले ओलीलाई दल विभाजन सम्वन्धि अध्यादेशमा सहयोग गर्न नसक्ने ‘सिग्नल’ दिएको कांग्रेस उच्च स्रोत बताउँछ।
कांग्रेसको ‘सिग्नल’ नपाएपछि अध्यादेश ल्याउने तयारीसहित सोमबारका लागि बोलाइएको मन्त्रीपरिषद् बैठक स्थगित गरिएको छ।
मन्त्रीपरिषद् बैठक बोलाइएपछि सोमबार कांग्रेस सभापति देउवा र गृहमन्त्री रमेश लेखकबिचमासमेत छलफल भएको थियो। सो भेटमा मन्त्रीपरिषद् बैठकबाट अध्यादेश ल्याउने तयारी भए कांग्रेसले नमान्ने सन्देश दिन लेखकलाई देउवाले आग्रह गरेका थिए।
यस्तै पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेर विपक्षी दलहरु सरकारप्रति रुष्ट भइरहेको अवस्थामा विधेयक ल्याउँदा त्यसले सरकारको झनै विरोध हुने अवस्था रहेकोतर्फ पनि कांग्रेस नेताहरु सचेत रहेका छन्।
प्रधानमन्त्रीले साना राजनीतिक दललाई अध्यादेश मार्फत फुटाएर आफ्नो दलमा जोड्ने प्रयास गरेको भन्दै कांग्रेस वरिष्ठ नेता कोइरालाले आइतबार बिराटनगरमा एक कार्यक्रममा धारणा राख्दै असन्तुष्टि जनाएका थिए। उनले दलसम्बन्धि विधेयकले प्रश्नचिन्ह खडा गरिदिएको बताएका थिए।
प्रधानमन्त्री ओलीले अब कांग्रेसको असहयोगकाबिचमा अध्यादेश ल्याउने प्रयास गर्छन कि त्यो तयारीबाट आफू ब्याक हुन्छन भन्ने प्रश्न नेपाली राजनीतिमा उब्जिएको छ। यदी कांग्रेसको सहयोग बिना नै सो अध्यादेश ल्याइए राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश स्वीकृत नगर्ने र त्यसपछि देशको राजनीतिले कोल्टे फोर्ने सम्भावनालाई नेताहरुले आँकलन गर्न थालिसकेका छन्। त्यस्तो अवस्थामा सरकार प्रधानमन्त्री ओलीले भने जस्तो ‘खरानीको डल्लो’ रहला?



