काठमाडौं। नेपाली हिन्दु नारीहरुले मनाउने पर्व हरितालिका तीज आज भब्य रुपमा भगवान शिवको पूजाअर्चना गरि मनाइदै छ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीजको आज दोस्रो दिन हो। आजको दिन भगवान शिवको आरधना गर्दै व्रत बस्ने र विवाहित महिलाहरुले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्ने गर्दछन्। अविवाहित महिलाहरुले भने यस पर्वमार्फत योग्य तथा सर्वगुण सम्पन्न वरको कामना गर्ने विश्वास लिइन्छ।
धर्मशास्त्रमा भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
आज देशका शिवालयहरुमा भव्य पुजाअर्चना भइरहेकाले घुइँचो लागेको छ। काठमाडौंमा पशुपतिनाथ मन्दिर, हनुमान ढोकास्थित मख्खन पशुपती, पेप्सिकोलास्थित हरहर महादेव लगायतका मन्दिरहरुमा भक्तजनहरुको भीड छ।
तीजमा माइती पक्षहरु विवाहित छोरी चेलीलाई लिनका लागि कर्म घरसम्म जाने परम्परासमेत छ। माइती आएका चेलीहरु आफ्ना सुख दुःख साटासाट गर्दै तीजका गितमा नाच्ने गर्दछन्। तीजलाई एकता र मेलमिलापको पर्वका रुपमा लिइन्छ।
धार्मिक मान्यतानुसार सत्य युगमा भगवान महादेवको प्राप्तिको कामना गर्दै पार्वतीले भाद्र शुक्ल द्वितीयाकै दिन दर खाएर तृतीयामा व्रत तथा पूजा गरेको विश्वास गरिन्छ। पार्वतीले व्रतकै प्रभावले महादेव स्वामी पाएको जनविश्वास छ।



