नयाँ दिल्ली। भारतको अहमदावादबाट लन्डन उड्न लागेको एयर इन्डियाको विमानमा समस्या देखिएको छ। सो कारण एयर इन्डियाको अहमदाबाद–लन्डन उडान रद्द गरिएको छ।
एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान एआई–१५९ अहमदाबादबाट मंगलबार दिउँसो १ः१० बजे उडान गर्ने तयारीमा रहँदै गर्दा समस्या देखिएको हो। यही रुटमा केही दिन अघि एयर इन्डियाकै अर्को विमान एआईए–१७१ उडेको केहीबेरमा नै दुर्घटनामा परेको थियो। सो विमानमा २४२ जना सवार थियो।
मंगलबारसहित पछिल्ला दुई दिनमा एयर इन्डियाको तीन वटा बोइङ ७८७ ड्रीमलाइनर विमानमा प्राविधिक समस्या देखिएको छ। यसअघि एयर इन्डियाको हङकङदेखि दिल्ली आउने एआई ३१५० उडानमा शंकास्पद प्राविधिक गडबडीका कारण विमानलाई बिच बाटोबाटै हङकङ फर्काइएको थियो। सान फ्रान्सिस्कोबाट मुम्बई आउने उडानको ४ घन्टा पछि कोलकातामा अवतरण गराइएको थियो।
विमानमा समस्या आएपछि अहमदाबादबाट लन्डनका लागि प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान सञ्चालन समस्याका कारण रद्द गरिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए। एआई–१५९ उडान रद्द गरिएको एयर इन्डियाको आधिकारिक वेबसाइटमा उल्लेख छ।
सो उडान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३ बजे प्रस्थान गर्ने तालिका थियो। जुन निर्धारित प्रस्थान समयभन्दा ढिलो थियो। उडानसम्बन्धी कारणले गर्दा उडान रद्द गरिएको विमानस्थलका अधिकारीले बताए। सञ्चालन समस्याबारे अधिकारीले विस्तृत रूपमा बताएका छैनन्।



