काठमाडौ। बिहीबार भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाका घाइतेको परिवारलाई विमान संचालक कम्पनी टाटा समूहले एक करोड रकम सहयोग दिने घोषणा गरेको छ।
सो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २९० पुगेको छ। उनीहरु विमानका यात्रु, विमान ठोक्किएको होस्टलमा रहेका चिकित्सक र सडक तथा भुइँमा हिड्दै गरेका नागरिकहरु रहेको बताइएको छ।
विमान दुर्घटनामा घाइते भएकाहरूको समेत सम्पुर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि टाटा समूहले घोषणा गरेको छ भने विमान दुर्घटना हुँदा भत्किएको अस्पतालको आवास भवन समेत कम्पनीले नै बनाइदिने घोषणा गरिएको छ।
"एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी दुःखी छौँ। यस क्षणमा हामीले महसुस गरिरहेको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन।"
कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन।
"हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्," विज्ञप्तिमा भनिएको छ, "टाटा समूहले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ। हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौँ र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौँ। यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौं।"
दिउँसो १ बजेर ३८ मिनेट जाँदा अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमा नै दुर्घटनामा परेको थियो। सो विमान सिभिल अस्पतालको डाक्टरहरुको आवास रहेको चार वटा होस्टलको भवनमा ठोक्किन पुगेको थियो। विमान ठोक्किएपछि फैलिएको आगो र धुँवाका कारण होस्टल भग्नावशेष बनेको छ।
सो विमानमा २४२ जना यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ। दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर हो। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार मेघनानगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए। दुर्घटनामा एक बेलायती नागरिक भने बाँच्न सफल भएको भारतीय संचार माध्यमहरुले जनाएका छन।



