काठमाडौं। भारतमा कोरोना (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि नेपालमासमेत सरकारले आवश्यक तयारीका लागि सक्रियता देखाएको छ।
भारतमा सोमबारसम्म कोभिड-१९ का १ हजार ९ सक्रिय केसहरू देखिएका छन्। जसमध्ये केरलामा सबैभन्दा बढी ४३० केसहरू देखिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
केरलापछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ जना करोनाका संक्रमित फेला परिसकेका छन। यसैगरी, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३ तथा पश्चिम बंगालमा १२ जनामा संक्रमण देखिएको छ। तर भारतमा देखिएका संक्रमितहरुका लक्षण भने सामान्य रहेको बताइन्छ। तर केही ब्यक्तिको मृत्युसमेत भएको घटनामा कोभिड १९ नै मुख्य कारक नभएको बताइएको छ।
भारतमा कोभिड-१९ को संक्रमण बढ्न थालेपछि नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुलाई बोलाएर छलफल गरेका थिए।
सो छलफलमा मन्त्री पौडेलले भारतलगायतका देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न तीन वटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाउन भनेका हुन। सो क्रममा उनले विपद् आए पछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपाली त्यसो हुन नहुने बताए।
संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन भारतमा देखिएको कोभिड संक्रमण संक्रामक र घातक भएको नदेखिएकाले नेपालमा अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन।
‘भारतमा अहिले फैलिएको भेरियन्ट संक्रामक र घातक रहेको देखिंदैन, यो फैलनुमा कति संक्रामक र कति घातक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ, हामीले अहिके नै आत्तिनु पर्ने अवस्था छैन, तर सचेत चाहिँ भएकै राम्रो हुन्छ।´ डा पुनले भने।
भारतमा कोरोना बढ्दै जाँदा नेपाली जनसमुदायमा पनि त्यसको चासो र चिन्ता बढ्दै गएको छ। भारतसँग खुला सिमानाका कारण पनि भारतमा कुनै पनि संक्रमण फैंलिंदा नेपालमा चासो र चिन्ता बढ्ने गरेको छ।



