काठमाडौँ। सरकारले मानव बेचिबिखन तथा ओसारपसार विरुद्ध उल्लेखनिय कार्य गरे वापत भारतस्थित ‘किन इण्डिया’ संस्थाका नवीन जोशीलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय सम्मान प्रदान गरेको छ।
अठारौँ मानव बेचबिखनविरुद्घको राष्ट्रिय दिवसका अवसर पारेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत जोशीलाई राष्ट्रिय सम्मान प्रदान गरेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जोशीलाई सो सम्मान प्रदान गरेका हुन्।
भारतस्थित ‘किन इण्डिया’ ले मानव बेचबिखनमा परि भारतका विभिन्न भागमा रहेका नेपालीहरूलाई उद्धार गर्दै आइरहेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीले मानव बेचबिखनविरुद्ध मन्त्रालय चेतना जगाउन अग्रसर रहेको बताए।
कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव दीपकराज नेपाल, मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, महिला आयोगका अध्यक्ष कमला पराजुली, सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, पीडित पम्फा अधिकारीलगायत वक्ताले एकल प्रयासले मात्र मानव बेचबिखन उन्मूलन सम्भव नहुने भएकाले सामूहिक प्रयास आवश्यक रहेको औंल्याए।
सो कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)की उपसम्पादक मधु शाही, नागरिक दैनिककी संवाददाता सविता खड्का, सञ्चारमाध्यम विधातर्फ बिरगञ्जबाट प्रकाशित हुने मध्यनेपाल सन्देश साप्ताहिकलाई सम्मान गरिएको थियो।
यसैगरी मानव बेचिबिखनबाट प्रभावित पम्फा अधिकारी, रुपन्देहीको सिद्धार्थ नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आवाज संस्था सुर्खेतलाई पनि कार्यक्रममार्फत सम्मान गरिएको छ।



