काठमाडौं। नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको स्वीट्जरल्यान्डको जेनेभामा ७८ औं सम्मेलन आयोजना भएको थियो। जारी सम्मेलनका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ।
पौडेलले यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार गर्दै विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए।
नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए। यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे।
`यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं, उनले भने।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन,`***जेनेभाबाट अर्को खुशीको खबर !*** नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´




