काठमाडौं। नेपाल फार्मेसी परिषद्ले फार्मेसी अध्ययन गराउने सबै शैक्षिक संस्थासँग पूर्णकालीन शैक्षिक जनशक्तिको विवरण मागेको छ।
परिषद्ले शुक्रबार सुचना जारी गर्दै फार्मेसी विषय अध्ययन गराउने सबै विश्वविद्यालय, प्रतिष्ठान, शैक्षिक संस्था, स्कूल/कलेजहरूसँग पूर्णकालीन शैक्षिक जनशक्तिको विवरण माग गरेको हो।
`नेपाल फार्मेसी परिषद् ऐन २०५७ को दफा ९ बमोजिम फार्मेसी ब्यवसाय अध्ययन गराउने सबै शैक्षिक संस्थाहरुमा कार्यरत फार्मेसी जनशक्तिको विवरण फार्मेसी ब्यवसायलाई थप ब्यवस्थित एवम वैज्ञानिक रुपमा संचालन गर्न आवश्यक देखिएको छ´ परिषद्का रजिष्ट्रार सञ्जिबकुमार पाण्डेयद्वारा जारी सुचनामा भनिएको छ।
सुचनामा ३५ दिन भित्र कार्यरत सम्पूर्ण पूर्णकालीन शिक्षक, प्राध्यापकहरुको विवरण परिषद्को कार्यालय वा इमेल मार्फत पेश गर्न सकिने उल्लेख छ।
विवरण बुझाउँदा परिषदद्वारा जारी नाम दर्ता प्रमाणपत्रको प्रतिलिपि (सम्बन्धित फर्मासिष्टको), सम्बन्धित शिक्षक/ कर्मचारीको योग्यताको प्रमाणित प्रतिलिपि (शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र), नियुक्ति पत्र र सेवा अवधिको प्रमाणित विवरण तथा संस्थाको प्रमाणित प्रस्ताव उपलब्ध गराउन भनिएको छ।
परिषद्ले फार्मेसी शिक्षण संस्थाहरुमा कार्यरत शैक्षिक जनशक्तिको योग्यता, अनुभव र सेवा अवधि सम्बन्धि विवरण संकलन गरि नियमन गर्ने प्रक्रिया अगाडी बढाउँदै आएकोसमेत बताएको छ।




