काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमितिको चयनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार मैदानमा छन।
निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन। उनीहरू प्यालन नै बनाएर मैदानमा छन।
यसैगरी बारमा अध्यक्षका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल पनि उम्मेदवार बनेका छन। बारको निर्वाचन मार्फत २५ जनाको कार्यसमिति चयन हुनेछ।
बारको नयाँ नेतृत्व चयन गर्न अहिले ८ बजेदेखि मतदान हुने भनिएपनि निर्वाचन समितिले तयारी गरिरहेको छ। प्राडा मिश्र र श्रेष्ठले न्यायालयको सुधारका लागि भन्दै आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।
प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधारका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्नका लागि अघि सारिएको बताएको छ।
मिश्र समूहको प्रतिबद्धतापत्रका बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नबोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्न रहेको उल्लेख छ।
यसैगरी कृत्रिम बैद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न र समग्र कानुन प्रणालीको सुधारका लागि दबावमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न मिश्र समूहले उम्मेदवारी दिएको बताएको छ।
अर्का अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता डा श्रेष्ठले नेपाल बार एशोसिएशनको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
श्रेष्ठ समूहले कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन्।
वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार निर्वाचनमा नौ हजार ९५७ जना मतदाता छन्।
बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ। मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र तोकिएको छ। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा छ भने यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन्। बिहान ८ बजेदेखि ४ बजे मतदानको समय तोकिएको छ।



