काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलाई प्रहरीले निवासबाटै पक्राउ गरेको छ।
लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।
लामिछानेलाई आज जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतमा राखिने स्रोतले बतायो। उनलाई भोलि विमानमार्फत रुपन्देही लैजाने तयारी भएको प्रहरी बताउँछ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो।
उच्च अदालतको इजलासले यसअघि जिल्ला अदालत रुपन्देहीले गरेको आदेशलाई बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई यसअघि १ करोड धरौटी लिएर छाड्न आदेश गरेको थियो। सो आदेश विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही उच्च अदालतमा पुनरावेदन गर्न गएको थियो।
इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।



