काठमाडौं। काठमाडौंसहित देशभर वायु प्रदुषण बढेपछि विज्ञहरुले काठमाडौंमा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न सुझाव दिएका छन।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार प्रदुषण रोकथाम तथा नियन्त्रणका विषयमा सरोकारवाला पक्ष र विज्ञहरुसँग छलफल गरेका थिए। सो क्रममा विज्ञहरुले सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन र हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सुझाएका हुन।
यसैगरी सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गर्न विज्ञहरुले सरकारलाई सुझाएका छन। सडक निर्माण तथा भौतिक संरचना बनाउँदा अव्यवस्थित रुपमा काम हुने गरेको भन्दै विज्ञहरूले शुल्क तोक्दा प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरुको सुझाव छ।
छलफलपछि कार्यवाहक प्रधानमन्त्री सिंहले अन्य पक्षसँग पनि छलफल गरेर सरकारले आवश्यक निर्णय लिने बताए।
यस्तै उनले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पनि सरकारले पहल गर्ने बताए।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार नै काठमाडौँसहित प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक रहेको भन्दै सकेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले पनि बुधबार नै अनावश्यक काममा घर बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ।



