मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंको वायु प्रदूषण खतरनाक, सकेसम्म घर बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौंको वायु प्रदूषण खतरनाक, सकेसम्म घर बाहिर ननिस्कन सरकारको आग्रह

images
२०८१ चैत्र २१ गते, बिहिवार
२०८१ चैत्र २१ गते, बिहिवार
  • काठमाडौं। काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै खतरनाक विन्दुमा पुगेको छ। 

    images

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंसहित प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक रहेको भन्दै सकेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ। बिहीबार काठमाडौँको वायु प्रदूषण सूचकाङ्क (एक्युआइएयर) ३०८ पुगेको छ।

    images

    प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहर मैला र फोहर मैला जलाउने कार्य, काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभइसकेको अवस्थामा केही दिनयता काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको जनाएको छ। 

    प्राधिकरणले वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको बताएको छ।

    ‘वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ’, प्राधिकरणका प्रवक्ता रामबहादुर केसीद्वारा जारी सूचनामा भनिएको छ।

    सूचनामा सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ।

    यस्तै अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

    प्रदूषणका कारण बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने तर्फ सचेत गराउँदै प्राधिकरणले त्यस्ता ब्यक्तिहरुको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

    अझै एक हप्ता वायु प्रदूषणमा सुधार नहुने देखिएको भन्दै प्राधिकरणले भनेको छ, ‘वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता वायु प्रदूषणमा सुधार नहुने देखिएकोले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नुहुन समेत प्राधिकरण विशेष अपिल गर्दछ।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend