मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बेवारिसे सडक मानवको सहयोगार्थ `श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ  २०८१´ सुरु

बेवारिसे सडक मानवको सहयोगार्थ `श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ  २०८१´ सुरु

images
२०८१ चैत्र २१ गते, बिहिवार
२०८१ चैत्र २१ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको राधेराधेमा बेवारिसे सडक मानवको सहयोगार्थ `श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ  २०८१´ सुरु भएको छ।

    images

    मानव कल्याण समाजको आयोजनामा आजबाट राधेराधे, यातायात कार्यालयसँगै रहेको स्थानमा महायज्ञ सुरु भएको हो। महायज्ञ २७ गतेसम्म चल्नेछ।  महायज्ञमा
    संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवज्यूबाट कथा वाचन हुनेछ। 

    images

    सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले जानकारी दिए।

    न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे जानकारी दिए।

    २०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ।

    केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ। संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ।

    संस्थाका अध्यक्ष सुमी मानवका अनुसार त्यसअघि २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरिएको थियो। संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ। 

    हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ। महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघका अध्यक्ष मानवले जानकारी दिइन्।

    महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत आज बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग आयोजना गरिएको छ भने आज नै विहान ९ बजे  महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ। महायज्ञको समुद्घाटन आजै दिउँसो साँढे १२ बजे हुनेछ।

    यस्तै लक्ष्यवर्तिक प्रज्वलन चैत्र २६ र २७ गते तथा समापन चैत्र २७ गते हुने बताइएको छ। महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साँढे ४ बजे प्रसाद वितरण गरिने छ।

    यस्तै दैनिक रुपमा साँझ ६ देख ९ बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन हुने संघले जानकारी दिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend