काठमाडौं। केही समय अघि काठमाडौंको टोखामा प्रहरीले ट्रकबाट समातेको २५ करोड बराबरको डलर र युरोको मालिक भेटिएका छन।
राजश्व अनुसन्धान विभागका जासुस टोलीको अनुसन्धानबाट २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान भएको हो। उनी सिन्धुपाल्चोक भोटेकोसी ४ का नारायण पौडेल भएको विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले जानकारी दिए।
पौडेल टोखा नगरपालिका १० महादेवतारमा बस्दै आएका थिए। उनलाई पक्राउ गर्न विभागले प्रहरीलाई पत्राचार गरिसकेको छ।
गत चैत ४ गते उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकमा राखिएको नगदसहित ट्रकका चालक कुसाङ लामालाई पक्राउ गरेको थियो। लामासँगको बयान तथा अन्य प्रमाणका आधारमा सो रकमको मालिक फेला पार्न विभागको टोलीले सुषुप्त अनुसन्धान गरेको थियो।



