मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भाटभटेनी लुटपाट र तोडफोड प्रकरण

कोटेश्वर भाटभटेनीका गार्ड पराजुलीको पाँच तह बढुवा, ५ लाख पुरस्कार

कोटेश्वर भाटभटेनीका गार्ड पराजुलीको पाँच तह बढुवा, ५ लाख पुरस्कार

images
२०८१ चैत्र २० गते, बुधवार
२०८१ चैत्र २० गते, बुधवार
  • काठमाडौं। गत चैत १५ गते राजावादी समुहले काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा प्रदर्शन गर्दा भाटभटेनीमा लुटपाट र तोडफोडको घटना भएपछि प्रतिकारमा उत्रिएका एक सुरक्षा गार्डलाई भाटभटेनीले सम्मान गरेको छ।

    images

    प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट तथा तोडफोड हुन थालेपछि प्रतिकारमा उत्रिएका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीसहितका सुरक्षा गार्ड र कर्मचारीहरुलाई कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष मीनबहादुर गुरुङले पुरस्कारसहित सम्मान गरेका हुन।

    images

    जसअनुसार सुरक्षा गार्ड पराजुली ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मानित भएका छन। उनलाई दुबोको माला लगाएर सम्मान गरिएको छ। कार्यक्रममार्फत उनको पाँच तह बढुवाको घोषणासमेत गरिएको छ। पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन।

    सोही दिन लुटपाटमा संलग्नहरुको प्रतिकारमा उत्रिएका अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ।

    यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्रदान गरिएको छ।

    कार्यक्रममा अन्य कमर्चारीहरुलाईसमेत सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन्। उनीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको हो।

    सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको भाटभटेनीका सिइओ राजु पौडेलले बताए। 

    पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ। दर्जनौँ सङ्ख्यामा रहेका व्यक्तिहरूलाई उनले लाठीले कुट्दै भगाएको भिडियोमा देख्न सकिन्छ।

    उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ। त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको भाटभटेनीको दाबी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend